काठमाण्डौ (अन्नपूर्ण): पैसाको अभावका कारण माया मुर्दा लाँदा फालेको पैसा जम्मा गर्छिन् अनि कापी र सिसाकलम किनेर पढ्छिन् । बाँकी पैसा खुत्रुकेमा जम्मा गर्दै जान्छिन् । मसानघाटमा फालेको पैसा टिप्नु उनको एक किसिमको सोखजस्तै बनेको छ ।
समय बित्दै जान्छ । एक दिन मायाको हजुरबुबाको मृत्यु हुन्छ । हजुरबुबाको मृत्युमा चढाउने पैसा हुँदैन । अन्तिममा मायाले जम्मा गरेको खुत्रुके फोरेर त्यही पैसा चलाइन्छ । माया आफ्नो हजुरबुबाको मृत्युभन्दा पनि आफ्नो प्यारो खुत्रुके फोरिएकोमा बढी दु:खी छिन् । उनी फेरि आफ्नो हजुरबुबाको मुर्दा लांदा फालेको पैसाका सिक्का जम्मा गर्छिन् तर यसपटक उनले त्यो पैसा कहिल्ये खुत्रुकेमा जम्मा नगर्ने र कापी कलम नकिन्ने प्रण गर्छिन् ।
नाटक 'मृ्त्युमा पढ्नेहरु' को कथासार हो यो । आईएटीए नेपालको सहयोगार्थ चेल्सी इन्टरनेशनल एकेडेमीको प्रस्तुती सोमबार पुरानो बानेश्वरस्थित गुरुकुलको सम थिएटरमा मञ्चन गरियो । रंगकर्मी राजन उप्रेती निर्देशित नाटकमा सुप्रिया भेले, गुञ्जन घिमिरे, एलिज पराजुली, सविना खड्का, विजय सापकोटा, अंकित खड्का, कृष्ण शाह, अभिषेक बानियाँ, आशिष ठगुना, सुजन पराजुली र पल्पसा श्रेष्ठको अभिनय छ । |