गोरखापत्र समाचारदाता: काठमाण्डौ, चैत्र १७ गते । उपराष्ट्रपति परमानन्द झाले सन २०१० मा नेपालबाट एलेभलको परीक्षामा विभिन्न स्थान हासिल गर्ने विद्यार्थीलाई बिहीबार यहाँ पुरस्कृत गर्नुभएको छ ।
क्याम्ब्रिज विश्वविद्यालयको जनरल सर्टिफिकेट अफ एजुकेशन (जिसिई) कार्यक्रम अन्तर्गत सञ्चालित शैक्षिक कार्यक्रम ए लेभलमा विश्वमै उत्कृष्टता हासिल गर्ने तीन जनाका साथमा विभिन्न विषयहरुमा नेपालमा उत्कृष्ट हुने दर्जनौं विद्यार्थीहरुलाई सम्मान गर्नु भएको हो ।
विद्यार्थीहरुलाई सम्मान गर्दै उपराष्ट्रपति झाले विश्वव्यापीकरणसँगै नेपालमा पनि ए लेभलको महत्व बढ्दै गएको बताउनुभयो ।
शिक्षा प्रणालीमा विश्वमै नेपाली विद्यार्थी पनि कम छैन भन्ने पुष्टी गरेको भन्दै उहाँले अन्तर्राष्ट्रीयस्तरको शिक्षा नेपालमै पाउनु ठुलो अवसर भएको बताउनु भयो ।
क्याम्ब्रिज इन्टरनेशनल एक्जामिनेशनका दक्षिण एसियाका क्षेत्रीय प्रबन्धक एन्ड्रिउ सोर्टवेलले ए लेभल शिक्षाप्रति नेपाली विद्यार्थीको चासो उत्साहप्रद रुपले बढेको बताउनु भयो ।
बुढानिलकण्ठ स्कुलका प्राचार्य नारायणप्रसाद शर्माले पहिलोपटक नेपालमा बुढानिलकण्ठ स्कुलले सन् १९८५ मा ए लेभलको सुरुवात गरेको स्मरण गराउँदै स्कुलबाट ए लेभल उतिर्ण विद्यार्थी विश्वव्यापी रुपमा सक्षम रहेको दाबी गर्नु भयो ।
विज्ञान, गणित, वाणिज्य शास्त्र, अर्थशास्त्र, लेखालगायतका विभिन्न विषयमा विभिन्न विद्यालयका विद्यार्थीले नेपालटप गरेका हुन् ।
हाल ए लेभल सहरी क्षेत्रमा एसएलसीमा उत्कृष्ट अङ्क हासिल गरेर उतिर्ण हुने अधिकांश विद्यार्थीको पहिलो रोजाइमा पर्ने गरेको छ । विद्यार्थीको यही आकर्षणलाई ध्यानमा राखेर तीन दर्जन कलेजले बेलायतस्थित क्याम्ब्रिज विश्वविद्यालय अन्तर्गतको यो पाठ्यक्रमको सम्बन्धन लिएर अध्यापन गराइरहेका छन् । यहाँका कलेजलाई यो पाठ्यक्रमको सम्बन्धन दिन अनुगमन गर्न तथा परिक्षा सञ्चालनका लागि क्याम्ब्रिज विविले नेपालस्थित ब्रिटिश काउन्सिललाई अधिकार प्रत्यायोजन गरेको छ । |